शाही नेपाल चलचित्र संस्थानले स्थापनाको दुई वर्षपछि ‘मनको बाँध’बनायो, जुन निर्देशक प्रकाश थापाको डेब्यु फिल्म थियो । यही फिल्मबाट बैकुण्ठमान मास्केले छायांकारको रुपमा डेब्यु गरे र पहिलो नेपाली छायांकारमा दरिए । यसअघि बनेका फिल्ममा भारतीय छायांकारले छायांकनको जिम्मेवारी निर्वाह गर्दै आइरहेका थिए । यही वर्ष संस्थानले बालाजुमा प्रशोधनसाला भवनको शिलान्यास समेत गरेको थियो । यही फिल्मबाट स्टिल फोटोग्राफीको पनि सुरुवात भएको थियो । मञ्जुकुमार श्रेष्ठले पहिलो पल्ट स्टिल फोटोग्राफी सुरु गरेका थिए । यही फिल्ममा उत्तम नेपालीले इन्डोर सुटिंगका लागि सेट बनाएर पहिलो कला निर्देशक बनेका थिए । मनोरञ्जन कर छुट पाउने पहिलो नेपाली फिल्मसँगै यसमा स्पट डबिंगको पनि सुरुवात भएको थियो ।